ल्यु-साओचीको बिरालो र नयाँ शक्तिको भविष्य



- मनहरि तिमिल्सिना

(२०७३ जेठ २७ गते अनलाइनखबरमा प्रकाशित) 

सन् १९५६ मा सोभियत समाजवादमा प्रतिक्रान्ति भयो । निकिता खुश्चेवले घोषणा गरे, ‘अबको रुसी समाज र राज्य शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण प्रतिस्पर्धा र सह-अस्तित्वका आधारमा अगाडि बढ्नेछ।’ उनले रुसी समाजमा वर्गसंघर्षको अन्त्य भएको घोषणा मात्र गरेनन्, पञ्चशीलको सिद्धान्तमाथि प्रश्न उठाउँदै शान्तिपूर्ण सह-अस्तित्वको वैदेशिक नीति अख्तियार गरे। तर, खुश्चेवले जतिसुकै साम्राज्यवादको दलाली गरे पनि साम्राज्यवादी शक्तिकेन्द्रले शंकाको दृष्टिले हेरिरहे। सोभियत संघको बिघटन नभई उनीहरुलाई साम्यवादको भूतले तर्साउन छोडेन।

प्रतिक्रान्तिपछि साम्राज्यवादी शक्ति केन्द्रको सम्पूर्ण ध्यान सोभियत संघको बिघटनतिर सोझियो। १५ गणराज्यहरुलाई नै सोभियतका विरुद्ध उभ्याउने प्रयत्न गरियो। अफगानिस्तानलाई अमेरिकाले उचाल्यो र भन्न लगायो, ‘हामी सोभियतको नियन्त्रणमा बस्दैनौं।’ सोभियतविरुद्ध बिन लादेन परिचालन गरियो । सत्तामा रहेका मिखाइल गोर्भाचोव पनि वैदेशिक प्रतिक्रियावादकै अनुयायी थिए। २१ डिसेम्बर १९९१ मा सोभियत संघको बिघटन गर्दै गोर्वाचोभले घोषणा गरे, ‘इतिहासको अन्त्य भयो, मार्क्सवादको अन्त्य भयो।’ संसारभरका साम्राज्यवादीहरुले खुसीयाली मनाए। आफ्नो लुटको स्वर्गको जोखिम टरेकोमा विश्वव्यापी प्रचार अभियान थाले। तर, मार्क्सवाद र इतिहास मरेन, समाजवादको झण्डा झुकेन।

कम्युनिष्ट पार्टी वर्गीय पार्टी हो। यसले सर्वहारा वर्गको हितको पक्षमा आफूलाई उभ्याउँछ, अनि समाजवाद हुँदै साम्यवादी समाज निर्माणको परिकल्पना गर्दछ। नेपालमा ३ असोजमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भयो। नयाँ संविधान जनयुद्धको परिणाम थियो। गणतन्त्र, संघीयता, सामाजिक न्याय र समावेशी लोकतन्त्रका लागि १५ हजारले बलिदानी गरेका थिए। तर, संविधान घोषणा भएको साता नबित्दै माओवादी बरिष्ठ नेता बाबुरामले भने, ‘पार्टीहरु निश्चित लक्ष्यका लागि निर्माण हुन्छन् र त्यो लक्ष्य प्राप्तिपछि पार्टीको औचित्य अन्त्य हुन्छ। त्यसैले आजैका मितिदेखि लागु हुने गरी एमाओवादी पार्टी परित्यागको घोषणा गर्दछु।’

कम्युनिष्ट पार्टीको अधिकतम् लक्ष्य साम्यवादी समाजको निर्माण हो। तर, बाबुरामले घोषणा गरे, ‘माओवादीको लक्ष्य पूरा भएकाले ‘नयाँ शक्ति’ निर्माणमा लाग्छु।’ एउटा साम्यवादी आदर्शका निम्ति संघर्षरत नेताको यो घोषणा सामान्य परिघटना थिएन। बाबुरामको घोषणाले उनको रणनीतिक लक्ष्य संघीय गणतन्त्रसम्म थियो भन्ने कुराको संकेत गर्दछ। अझ उनको घोषणा यतिमै सीमित रहेन। उनी भन्छन्, म मार्क्सवादको पक्षमा छैन। वाम-लोकतान्त्रिक सिद्धान्तका आधारमा ‘नयाँ शक्ति’ बनाउँछु। संविधान घोषणालगत्तै ‘इकोनमिक पोलिसी ग्रुप’ को भेलामा सहभागीहरुको टिप्पणी थियो, ‘संविधानमा समाजवादउन्मुख शब्द राखेकोमा हामीलाई शंका छ।’ उद्योगीहरुको शंका निवारण गर्दै बाबुरामले भनेका थिए, ‘आत्तिनु पर्दैन, लेखिएको मात्र हो, त्यो लागु हुँदैन। मुलूक पूँजीवादकै दिशामा अगाडि बढ्छ।’

पूँजीवादलाई नै अन्तिम लक्ष्य ठान्ने बाबुरामको दृष्टिकोण के हो ? डा. भट्टराईको वाम-लोकतान्त्रिक शक्तिभित्र मार्क्सवादको अस्तित्व होला ? उनले भन्ने गरेको ‘नयाँ शक्ति’ को मार्क्सवादसँग कुनै सम्बन्ध राख्ला ? अन्तरपार्टी विवादमा लेनिनलाई उद्धृत गर्ने बाबुरामले लेनिनवादी पद्दति मान्लान् ? ‘नयाँ शक्ति’को राजनीतिक भविष्य के होला ? यस्ता अनैकौं प्रश्न नेपाली राजनीति र बाम आन्दोलनसामू उठेका छन्।

मार्क्सवाद साम्यवादी गन्तव्यका लागि बनिबनाउ सत्य होइन। तर, मार्क्सवाद गतिशील भएकै तर्कमा यसका सर्वमान्य सिद्धान्तहरुको परित्याग र परिमार्जन गर्न सकिन्न। गतिशील विज्ञान भएका नाताले मार्क्सवादको निरन्तर विकास हुन्छ। तर, यसका सर्वमान्य सिद्धान्तहरुको अनुशरण नगरी त्यसको प्रयोग र विकास दुवै असम्भव हुन्छ। मार्क्सवादका विविध आयामहरु छन्। तर, सर्वहारा वर्गको अधिनायकत्व, वर्गसंघर्ष, निरन्तर क्रान्ति र बलप्रयोगको अनिवार्यता मार्क्सवादका अकाट्य सत्य हुन्। जसले उल्लेखित आधारभूत पक्षहरुमाथि संशोधनको चेष्टा गर्दछ, त्यसले मार्क्सवादको परित्यागकै नियति राखेको हुन्छ भन्ने कुरामा विवाद नहोला।

विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा यस्ता अनेकौं बहस र विवादहरु छन्, जसले मार्क्सवाद र संशोधनवाद वा मार्क्सवाद र प्रतिक्रियावादी धाराको प्रतिनिधित्व गर्दछन्। जतिबेला मार्क्सवाद र सर्वहारा क्रान्तिमाथि चुनौति आइलाग्छ, सच्चा मार्क्सवादीहरु त्यसको सामना गर्छन्, अनि कम्युनिष्ट आन्दोलनभित्र छिरेका अभिजात वर्गका प्रतिनिधिहरु कम्युनिष्ट आन्दोलनमाथि धारे हात लगाउँछन् र घोषणा गर्छन्, ‘ मार्क्सवाद पुरानो भयो, यसको औचित्य सकियो।’ आज बाबुरामले गरेका तर्क र गतिविधिलाई गहिरो गरी विचार गर्ने जो-कसैलाई लाग्छ, ‘उनी कम्युनिष्ट आन्दोलनलाई पूँजीवादकै गर्भमा तुहाउन अविजात वर्गबाट प्रवेश गरेका प्रतिनिधि नै हुन्।’

मार्क्सवादको इतिहास जति पुरानो छ, संशोधनवाद पनि उत्तिकै पुरानो छ। तर, संशोधनवादका समर्थकहरु आफ्नो आदर्श परित्यागको मार्गलाई नयाँ-नयाँ पदवी दिन्छन् र मौलिक विचार भएको तर्क गर्दछन्। मार्क्सले प्रथम अन्तर्राष्ट्रियकै बेला दक्षिणपन्थी संशोधनवाद र प्रतिक्रियावादको सामना गर्नुपरेको थियो। मार्क्स सर्वहारा वर्गको सत्ता र समाजवादको निर्माणका लागि योजनावद्ध क्रान्तिको पक्षमा थिए। तर, उनले अराजकतावादका पिता बाकुनिनको सामना गर्नुपर्‍यो। मार्क्स भन्थे, ‘सर्वहारा वर्गले क्रान्तिको नेतृत्व गर्नुपर्छ, समाजवादको निर्माण गर्नुपर्छ।’ तर, बाकुनिन ‘स्वतस्फूर्त क्रान्तिको पक्षमा थिए, क्रान्तिपछि निर्माण हुने सत्तामा कम्युनिष्टहरुले नियन्त्रण राख्न नहुने र स्वतस्फूर्त छाड्ने’ प्रस्ताव गर्थे। लामो र पेचिलो संघर्षपछि मार्क्सले बाकुनिन प्रवत्तिको सार खिच्दै भने, ‘अराजकतावाद बाकुनिन साहेवको जंगी घोडा हो।’

आज १५ वर्षसम्म १५ हजारको बलिदानीद्वारा प्राप्त भएको संघीय गणतन्त्र नेपालको संविधानलाई प्रतिक्रियावादको काखमा फालेर उम्कने बाबुराम विचार र कदम ‘बाकुनिन प्रवृत्तिकै पुनरावृत्ति’ नै हो, कुनै मौलिक विचार होइन।

आर्थिक विकास र समृद्धि समाजको चाहना र परिकल्पना हो। तर, यसलाई वर्ग संघर्ष र वर्गीय शक्ति सन्तुलनबाट बिमूख राखेर बुझ्न सकिन्न। आज बाबुराम जुन धरातलमा उँभिएर नयाँ शक्तिको कुरा गर्दैछन्, यो बर्नस्टि्रनको ‘विकासवादी समाजवाद’भन्दा पृथक छैन। वर्गसंघर्ष र साम्यवादी आदर्शबाट बिमूख भएर गरिने आर्थिक विकास र समृद्धिले समानता र सामाजिक न्यायको आकांक्षा सम्बोधन गर्न सक्दैन। आफ्नो संशोधनवादी दिशाको औचित्य पुष्टि गर्न ल्युसाओ-चीले ‘बिरालो कालो होस् वा सेतो, यसको मूख्य काम मुसा मार्नु हो’ भनेजस्तै बाबुरामको नयाँ शक्ति धनाढ्य वर्गको वैचारिक र संगठनात्मक हतियारबाहेक अरु हुन सक्दैन। जुनसुकै तर्क र नारामा गरिएपनि मार्क्सवादको परित्याग अन्ततः सर्वहारा आन्दोलन र साम्यवादी समाज निर्माणको आदर्शबाट बिचलन नै हुन्छ भन्ने विश्व इतिहासले पुष्टि गरिसकेको छ।

विश्व परिस्थिति फेरिएको छ। हामी मार्क्स, लेनिन र माओकै परिवेशमा छैनौं। तर, प्राकृतिक सत्य एउटै हुन्छ। मार्क्सका पालामा सूर्य पूर्वबाटै उदाउँथ्यो, पानी ओरालोतिरै बग्थ्यो। दिन र रातको चक्र चलिरहन्थ्यो। त्यसमा आज पनि कुनै परिवर्तन आएको छैन। अत्याधुनिक प्रविधिको विकासले पानीलाई उकालोमा तानिएला, त्यो प्राविधिक पक्ष हो। तर, अत्याधुनिक प्रविधिको विकासकै कारण पानीको गुण बदलिँदैन। मार्क्सवादको यथार्थ पनि यही हो। आजको समकालीन समाजका आवश्यकता र गुणहरुलाई मार्क्सवादले समयानुकूल सम्बोधन गर्छ। तर, आफ्ना आधारभूत गुणहरुको परित्याग सम्भव हुँदैन, जुन गुणका कारण मार्क्सवाद आजसम्म जीवित छ।

बाबुरामले जेठ ३० मा सामूहिक सपथमार्फत् ‘नयाँ शक्ति’ घोषणा गर्दैछन्। यस बीचमा बाबुराम र उनको समूहले सार्वजनिक रुपमा राखेका धारणाले भन्छ, ‘उनीहरु निवर्गीय पार्टी निर्माण गर्दैछन्।’ उनले निर्माण गर्ने ‘नयाँ शक्ति’को वैचारिक धरातल मार्क्सवाद हुने छैन, वामपन्थी दृष्टिकोण पनि हुने छैन। उनी आफ्नो व्यक्तित्वद्वारा प्रभावित सबै विचार र दृष्टिकोण राख्ने मानिसहरु बटुलेर नयाँ शक्ति बनाउन चाहन्छन्। यसको वैचारिक स्रोत नवउदारवाद हुनेछ भन्नेमा अब भ्रम छैन।

बाबुराम जतिबेलासम्म माओवादी आन्दोलनमा रहे, संगठनात्मक प्रश्नमा उनी सर्वहारा जनवादको पक्षमा रहेनन्। उनी नेतृत्व केन्द्रीकरण र जनवादी केन्द्रीयताको संगठनात्मक पद्दतिको विपक्षमा उभिए। उनले आफूलाई रोजा लक्जेम्बर्ग र प्रचण्डलाई स्टालिनसँग तुलना गरिरहे।

दोस्रो अन्तर्राष्ट्रियमा मार्क्सवादको बुझाई र प्रयोगमा एकरुप हुँदाहुँदै पनि रोजा र लेनिनबीच संगठनात्मक प्रश्नमा कैयौं बिमतिहरु थिए। समकालीन राजनीतिले रोजा र लेनिनको संगठनात्मक सोचलाई प्रभाव पारेको थियो। रसिया जारशाहीको बर्बर दमनमा थियो। लेनिन कुशल र संगठित कम्युनिष्ट पार्टीको निर्माणबिना समाजवादको निर्माण गर्न असम्भव हुने निकर्षमा थिए। जर्मनीमा राजनीतिक गतिविधिका लागि तुलनात्मक रुपमा सहज परिस्थिति थियो। जर्मनमा शान्तिपूर्ण र स्वतस्फूर्त आन्दोलन संगठित गर्ने सम्भावना थियो। तर, रसियामा त्यो सम्भावना ज्यादै कमजोर थियो । त्यही राजनीतिक परिवेशका कारण लेनिन अनुशासित कम्युनिष्ट पार्टीको पक्षमा थिए भने रोजा खुकूलो संगठनात्मक प्रणालीको जगमा कम्युनिष्ट पार्टीले स्वतस्फूर्त आन्दोलनको नेतृत्व गर्नुपर्ने मत राख्थिन्। तर, जब प्रथम विश्वयुद्धताका सामाजिक जनवादी पार्टी विश्वयुद्धको समर्थनमा उभियो, रोजाले सामाजिक जनवादी पार्टी परित्याग गरिन् र कम्युनिष्ट पार्टी निर्माण गरिन्। अनि, भेनगार्ड पार्टीको निर्माणको पक्षमा खडा भइन्।

तर, रोजालाई संगठनात्मक सिद्धान्तमा आदर्शको रुपमा चित्रण गर्ने बाबुराम त्यसको ठीक विपरित गर्दैछन्। उनले कम्युनिष्ट पार्टी त्यागेका छन् र सामाजिक लोकतान्त्रिक पार्टी निर्माणको दिशामा अग्रसर हुँदैछन्। संगठनात्मक क्षेत्रमा बाबुराम रोजाले अघि सारेको पद्दतिको पूर्णतः विपरित देखिन्छन्।

माओवादीको हेटौंडामा सातौं महाधिवेशन सम्पन्न भयो। महाधिवेशनले नेपालको नयाँ जनवादी क्रान्ति आधारभूत रुपमा भिन्न ढंगले सम्पन्न भएको निष्कर्ष निकाल्यो। राजतन्त्रको अन्त्य, संघीय राज्य संरचना, समावेशी लोकतन्त्र, भूमिसुधार, कृषिमा आश्रित जनसंख्याको कटौति र औद्योगिकरणको विकास, सामाजिक न्याय, राजनीतिक/सामाजिक जागरणजस्ता विषयलाई माओवादीले सामन्तवादी सत्ताको अन्त्यको आधारका रुपमा परिभाषित गर्‍यो। पूँजीवाद पूर्ण बिकसित भइनसकेको निष्कर्षसहित नयाँ संविधान घोषणा गर्ने र पूँजीवादी क्रान्तिका बाँकी कार्यभारसँगै समाजवादी क्रान्तिको आधार तयार पार्ने निष्कर्ष निकाल्यो। यो माओवादीको सर्वसम्मत निष्कर्ष थियो। शान्ति र संविधानलाई प्रमुख कार्यनीति बनाएको माओवादीकै बलमा संविधान जारी भयो। तर, बाबुरामले नयाँ संविधानलाई ‘कालो संविधान’ भने। पूँजीवादी क्रान्तिका मुलभूत कार्यभार संस्थागत गरेको संविधान ‘कालो’ देख्ने बाबुरामको नयाँ कार्यदिशा कस्तो होला ? एकातिर पूँजीवादी संविधानको विरोध गर्ने र अर्कोतिर पूँजीवादकै पक्षमा ‘नयाँ शक्ति’ निर्माण गर्ने बाबुरामको सोंच आफैमा विरोधाभासपूर्ण छ।

नयाँ संविधान निर्माण भएको छ। संविधानले समाजवादको दिशामा अघि बढ्ने प्रतिज्ञा गरेको छ। संघीयता सम्बोधन भएको छ तर, पूर्ण छैन। आन्तरिक र बाह्य राष्ट्रियताको चुनौति सम्बोधन भइसकेको छैन। संविधानको प्रगतिशील कार्यान्वयनको चुनौति हाम्रो सामू छ । संघीयता कम्युनिष्टहरुको पञ्जाबाट फुत्किएर ‘नेपाली गोर्वाचोभ’हरुको हातमा पर्ने चुनौति यथावत छ। यस्ता चुनौतिको सामना एक सुसंगठित कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्र सम्भव छ। कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्र जातीय, क्षेत्रीय, लैंगिक समस्या र आन्तरिक राष्ट्रियताको सम्बोधन हुन सक्छ। तर, बाबुरामले निर्माण गर्ने ‘नयाँ शक्ति’ले यो यथार्थतालाई बोध गर्न सक्ने छैन।

नयाँ शक्ति कस्तो बन्छ ? बाबुराम भन्छन्, ‘सबै दलका व्यक्ति र स्वतन्त्र व्यक्तित्वहरुलाई मिलाएर ‘नयाँ शक्ति’ बन्छ।’ उनको नयाँ शक्तिको लक्ष्य स्पष्ट छैन। के उनी साम्यवादसम्म पुग्ने चाहना राख्छन् ? राख्थे भने माओवादी र कम्युनिष्ट आन्दोलनको परित्याग किन ? माओवादी छोडेपनि साम्यवादको आदर्श छोडेका होइनन् भने पूर्व जाने रेलमा पश्चिमका यात्रु राख्ने बाबुराम कदमको हविगत के होला ? राजतन्त्र, प्रजातान्त्रिक, समाजवाद, उदारवाद र वैज्ञानिक समाजवादका पक्षधर सबै व्यक्ति र शक्ति ‘नयाँ शक्ति’को एउटै छाताभित्र अटाउन सम्भव होला ?

दोस्रो कुरा, कुनै पनि मानिस व्यक्तिगत रुपमा असल वा खराब हुनुले राजनीतिमा सबैथोकको फैसला गर्दैन। बरु, उसले लिने राजनीतिक दिशाले उसको व्यक्तित्वको निर्धारण गर्दछ। राजतन्त्रका पक्षधर कतिपय नेताहरु पनि व्यक्तिगत रुपमा असल छन्। तर, उनीहरुको विश्व दृष्टिकोण गलत भएकाले नागरिक उनीहरुका विपक्षमा छन्। के यो कुरा बाबुराम र ‘नयाँ शक्ति’को सन्दर्भमा लागु नहोला ?

सबैका सकारात्मक पक्ष लिएर नयाँ शक्ति निर्माण गर्ने बाबुराम तर्क त्यति हास्यास्पद छ, जति अर्काका अंग प्रत्यारोपण गरेर कुनै पनि व्यक्ति स्वस्थ हुने दावी गर्छ। अरुको अङ्ग प्रत्यारोपण मानवको सबैभन्दा अन्तिम रोजाई हो। कुनै पनि कुशल मानवले आफ्ना अङ्ग विकृत पारेर अङ्ग प्रत्यारोपणमा आशक्ति राख्दैन। उद्धेश्य, लक्ष्य र गन्तव्यमा पूर्णतः स्वतन्त्र हुने ‘नयाँ शक्ति’ कसरी गतिशील हुन सक्ला ? सबैभन्दा राम्रो जनावर बनाउन खोज्दा उँट बनेको पौराणिक किम्वदन्ती ‘नयाँ शक्ति’मा लागु हुँदैन भन्ने कुनै सुनिश्चितता छ ?

स्वतन्त्रताको दुनियाँमा पुग्न आवश्यकताको दुनियाँका सीमाहरु पार गर्नुपर्ने हुन्छ। साम्यवादको परिकल्पना त्यतिबेला मात्र पूर्ण हुन्छ, जतिबेला सर्वहारा वर्गको अधिनायकत्वलाई सुदृढ गर्दै स्वतन्त्रताको दुनियाँमा प्रवेशको आधार तयार हुन्छ। आवश्यकताको दुनियाँका सीमाहरु कुल्चेर स्वतन्त्रताको दुनियाँमा पुग्न सकिन्न । बरु, स्वतन्त्रताको दुनियाँमा पुग्ने चाहनामाथि नै पूर्णबिराम लाग्छ। साम्यवादी आदर्शका लागि लड्ने कुनै पनि शक्ति वा नेतृत्वले फलामे अनुशासनलाई स्वीकार गर्न सक्नुपर्छ, जसले निर्धारित लक्ष्यमा सारथिको भूमिका खेल्न सकोस्। आवश्यकताको दुनियाँलाई इन्कार गर्ने सोंचले गोलचक्कर र प्रतिगमनको मात्र नेतृत्व गर्न सक्छ, क्रान्तिको नेतृत्व गर्नै सक्दैन।

बाबुराम विचारको कुरा गर्छन्। तर, विधि र पद्दतिको पालना जरुरी ठान्दैनन्। तर, अब उनको भूमिका फेरिएको छ। हिजो प्रचण्डमाथि दोष दिएर उम्कन मिल्थ्यो, अब मिल्दैन । आफैले जीवनभर विरोध गरेको संगठनात्मक अनुशासनबिना उनको नयाँ शक्ति कसरी चल्ला ? तर, बाबुरामले रोपेको अराजकताको बिउ ‘नयाँ शक्ति’मा फल्नेछ, फूल्नेछ, जसरी वैद्यमा फूल्यो, विप्लवमा फूल्दैछ। त्यतिबेला बाबुरामले कस्तो संगठनात्मक प्रणाली अवलम्बन गर्छन् ? कि जानकारी दिएर जेसुकै गर्न छुट दिने विधिको विकास उनको संगठनात्मक प्रणाली हुन्छ ? प्रतिक्षाकै विषय छ।

जतिबेला बाबुराम माओवादीमा थिए। सबैले भन्थे, ‘नयाँ शक्ति’ बनाउनुस्, हामी तपाईसँगै छौं।’ तर, जतिबेला उनले माओवादी छोडे, ‘नयाँ शक्ति’का लागि सँगै भएको भन्नेहरु पनि साथ छोड्दैछन्। उनले कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायतका दलबाट आफ्नो पार्टीमा आउने देखेको सपना त्यति सजिलै पुरा हुँदैन। बिसौं वर्षको मेहेनत, परिश्रमबाट बनाएको व्यक्तित्व हत्केलामा राखेर को सजिलै बाबुरामको सति जान तयार होला ? आफ्नो सुनौलो भविष्यलाई अध्याँरो सुरङभित्र धकेल्ने चेष्टा सायदै दुरद्रष्टाले गर्ला। हिजो बाबुरामको देवत्वकरण गर्नेहरुबाटै भएका विरोधका स्वरहरुले त्यसको क्षितिज कोरिदिएको छ। यसले बाबुरामलाई बिचलित र विक्षिप्त गराउनेछ।

अन्त्यमा, जेठ ३० मा बाबुरामले घोषणा गर्ने नयाँ शक्ति विश्वकै सन्दर्भमा नयाँ सोंच र चिन्तन होइन। बरु, मार्क्सवादमाथि आक्रमणको सिलसिलामा विकसित पछिल्लो दृष्टान्त मात्र हो। रङ्गशालामा हजारौं मानिसको सामूहिक सपथले छापा माध्यमका पन्ना त भरिएलान्। तर, नागरिक आकाङ्क्षा र स्वाधिनताको शिर ठाडो हुने छैन। क्षणिक प्रचारबाजीमा माहिर बाबुराम र उनको नयाँ शक्ति कम्पास नभएको जहाजजस्तै हो। यो युगको नेतृत्व र स्वतन्त्रताको चाहना नभेट्दै हराउनेछ।

Comments

Popular posts from this blog

सङ्घीय प्रणाली र नेपालमा सङ्घीय शासन व्यवस्था

प्रसिद्ध कृति ‘दर्शनदिग्दर्शन’मा के छ ?

मिसन २०८४ : भोलिवादको झोली