सङ्घीय प्रणाली र नेपालमा सङ्घीय शासन व्यवस्था
– मनहरि तिमिल्सिना १. प्रारम्भ विश्वका सबै मुलुकले आफ्नो विशिष्टता र मौलिकताअनुरूपको शासकीय प्रणाली अपनाउँदै आएका छन् । त्यस्ता शासकीय प्रणालीमा विश्वका विभिन्न मुलुकसँगको अन्तसम्बन्धका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आधारहरू, आम नागरिकको आकाङ्क्षा र मनोविज्ञान, देशको विशिष्टता र मौलिकता एवं शासकीय प्रणालीबारे निर्णय लिने प्राधिकार प्राप्त राजनीतिक शक्तिहरूको सिद्धान्त, राजनीतिक आदर्श र राजकीय विवेकजस्ता पक्षहरू जिम्मेवार रहन्छन्, जसले देशको शासकीय प्रणाली छनोट एवं संवैधानिक ढाँचा प्रदान गर्न निर्णायक भूमिका खेल्दछन् । विश्वको कुनै देश वा राज्य सञ्चालनका निम्ति अपनाइने शासन प्रणाली वा शासनको संरचनागत ढाँचा शासकीय प्रणाली हो । जसले शासनको सिद्धान्त, रणनीति, अधिकारको बाँडफाँट, सरकारका अङ्गहरूको कार्य, नागरिकको अधिकार, कानुन निर्माणको दिशानिर्देश, राज्य सञ्चालनका नियमहरू लगायतका विषयमा संवैधानिक प्रबन्ध गर्दछ । राज्यका प्रमुख अङ्गहरू कार्यपालिका (Executive) व्यवस्थापिका (Legislature) र न्यायपालिका (Judiciary) बीच अन्तरसम्बन्ध र शक्ति पृथकीकरणको सिद्धान्तको संव...