विश्व–व्यवस्था र समाजवादको भविष्य
– मनहरि तिमिल्सिना औद्योगिक पुँजीवाद प्रगतिशील चरित्रको थियो । किनकि, त्यो उत्पादनमा केन्द्रित थियो । त्यसले औद्योगिक सर्वहारामाथि अतिरिक्त श्रम कालमार्फत श्रम शोषण गरे तापनि उत्पादकत्व वृद्धि गर्दथ्यो । नागरिकको क्रयशक्तिको कमीका बाबजुद राष्ट्रिय अर्थतन्त्र निर्माणमा प्रगतिशील भूमिका खेल्दथ्यो । तर, मुनाफाको होडमा त्यस्तो उत्पादन मानवीय आवश्यकताका सीमाहरू नाघेर मुनाफाका क्षेत्रहरूको खोजीतर्फ दौडियो । यसले नागरिकका आवश्यकताहरूको अध्ययन, विश्लेषण वा प्रक्षेपणका आधारमा नभएर अत्यधिक नाफा आर्जन गर्न सकिने क्षेत्रहरूको छनोटमा आफूलाई केन्द्रित गर्यो । अर्कोतर्फ एकाधिकारी पुँजीको विकासले औद्योगिक सर्वहारा वर्गमा बेरोजगारीको अवस्था गुणात्मक दृष्टिले वृद्धि हुँदै गयो, जसबाट नागरिकले कारखानामा उत्पादित माल जीवनका निम्ति अत्यावश्यक भएर पनि खरिद गर्नसक्ने परिस्थिति रहेन । बजार मूल्यमा आएको यही दुष्चक्र पुँजीवादमा आर्थिक सङ्कटको रूपमा देखा पर्यो । उत्पादित मालको खपतका निम्ति राष्ट्रिय बजार शक्तिशाली नहुनु र औद्योगिक उत्पादनको दरले राष्ट्रिय आवश्यकताको घेरा तोड्नुका कारण पुँजीवादले देशीय सीमा भत्क...